काठमाण्डौं । शुक्रवारदेखि नेपाली चलचित्र ‘कार्साङ देशभर सार्वजनिक प्रदर्शनमा आएको छ । लामो समयदेखि चर्चामा रहेको कार्साङ मा दयाहाङ राई मुख्य भूमिकामा रहेका छन् । यस चलचित्रले उठान गरेको शेर्पा समुदायको कला, संस्कृतिको प्रिमियर शो हेरेका कलाकर्मीहरुले प्रशंसा गरीसकेका छन् ।
यस चलचित्रमा जितु नेपाल दिया मास्केको साथीको भूमिकामा रहेका छन् । कार्साङ’मा जितुको जोडी दियासँग जोडिएको छ । उनी यो चलचित्रमा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले जानकारी गराएको छ । बच्चा नभएको दोष एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या को मा छ भन्ने हालसम्म खुलेको छैन । यसमा उनले दर्शकलाई हसाउनेछन् । हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताएका छन् ।
यसअघि दसैँमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा थिए । यसपछि उनी फेरि क्यारेक्टर रोलमा फर्किएका हुन् । यसैबीच, ‘कार्साङ’ले बुधवार काठमाण्डौमा प्रिमियर शो गरेको थियो । पूर्वी नेपालबाट चलचित्रको प्रचार सुरु गरेको हो । यसको पब्लीसिटिका लागि चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल समेत गरेका थिए ।
आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताएका छन् । यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते देखि प्रदर्शनमा आएको हो । शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् । यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ । बुधवार प्रिमियर शोको आयोजना गरिएको कमलपोखरीस्थित बिग मुभिजलाई शेर्पा संस्कृतिअनुसार गुम्बाझैं ध्वजापताकाले झकिझकाउ बनाउनुका साथै फिल्मका कलाकारहरू पनि शेर्पा समुदायकै पोसाकमा उपस्थित थिए ।