काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न न्यायाधीशसामु याचना गरेका छन् ।
बिहीबार जिल्ला अदालत कास्कीमा न्यायाधीश नितिज राईसँग उनले आफूलाई तारेखमा छाड्न याचना गरेका हुन् । आफू सहकारीपीडितको पक्षमा रहेको समेत उनले दाबी गरेका छन् ।
उनले इजलासमा भने, ‘म सुर्यदर्शन सहकारी पीडितका पक्षमा उभिन्छु, सहकारी पीडितका पक्षमा अरू पार्टीभन्दा रास्वपाले नै धेरै काम गरिरहेको छ, हाम्रो पार्टीले दिएका सुझाव सहकारीसम्बन्धी संसदीय समितिको अङ्ग पनि बनेको छ ।’ त्यसअघि उनले भने, ‘थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्, बरू हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका पक्षमा के(के गरेँ भन्ने रिपोर्टसहित आउनेछु ।’
उनले कम्पनीमा आएको पैसा खर्च गर्नु आफ्नो जिम्मेवारीको कुरा भएको बताएका थिए । संसदीय छानबिन समतिले पनि कम्पनी ऐन अनुसार गरिएको र सहकारीबाट पैसा लिने प्रक्रियामा आफ्नो संलग्नता नरहेको लामिछानेले बताए ।सो क्रममा लामिछानेले आफूलाई तारेखमा छाडिदिन भनेका हुन् । उनले आफू र आफू नेतृत्वको रास्वपाले यसअघि पनि सहकारी पीडितको पक्षमा काम गरिरहेको जिकिर गर्दै यसपछि पनि उनीहरुको पक्षमा उभिने बताए ।
साथै, उनले प्रत्येक पटकको तारेखमा अदालत आउँदा सहकारी पीडितको पक्षमा गरेको कामहरुको रिपोर्टसमेत लिएर आउने बताए । ‘सहकारी पीडितका पक्षमा रास्वपाले नै धेरै काम गरिरहेको छ । थुना बाहिरै बसेर मुद्दा लड्न पाऊँ श्रीमान्,’– उनले इजलाससमक्ष निवेदन गरे । कास्की जिल्ला अदालतले छाडेपनि लामिछाने पुन पक्राउ पर्नेछन् । उनीविरुद्ध रुपन्देही, चितवन र काठमाडौंमा सहकारी ठगी र संगठित अपराध मुद्दा छ ।