काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच चर्काचर्की भएको छ ।
बिहीबारको बैठकमा उनीहरुबीच भनाभन नै भएको हो । बैठकमा राजकिशोर निकै आक्रामक रुपमा प्रस्तुत भएको देखिन्छ । उनले सुवाललाई ‘औँला तल राख्नुस्’ भन्दै ठूलो स्वरमा बोलेको सुनिन्छ । सुवालले भने बैठक निरङ्कुश ढङ्गले चलाएको आरोप लगाएका छन् । उनले राणाशासन नगर्न चेतावनी दिएका छन् । राणाको अवतार नलिनु भनेका छन् ।
लगत्तै यादवले बैठक स्थगितको घोषणा गरे । बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच तनाव उत्पन्न भएको हो ।आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाएका थिए । त्यसपछि यादवले उत्तेजित जवाफ फर्काए । यादवको छेउमै बसेका माधव नेपाल मुसुमुसु हाँसे मात्रै, केही बोलेनन् ।
नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएपछि भनाभन भएको हो ।