पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ ।आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ ।कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलले जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो। सरकारी वकिल कार्यालयतर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौलीले गरेका हुन् ।
अहिले न्यायाधीशले प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिएका छन् । रविसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथी थुनछेक बहस भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो ।
वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । आदेशको मिति नजिकिएसँगै बुधबारबाटै पोखराका शहीदचोक र जिल्ला अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पार्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । आज पनि सुरक्षा व्यवस्थालाई कडा पारिने र सरकारी कामका लागि हो भने कागजात देखाएरमात्रै प्रवेश दिइने प्रशासनले जनाएको छ ।
राष्ट्रबैंक चोकदेखि, रत्नचोक, मालपोत कार्यालयसम्म र मासबार हुँदै मुख्यमन्त्री कार्यालय छिर्ने चोकसम्म प्रशासनले निषेधित क्षेत्र तोकेर सवारी आउजाउ रोकेको छ भने कामको प्रमाण नदेखाइ नागरिकलाई छिर्न नदिने जनाएको छ । उनीहरु ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।