विराटनगर । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला बुधबार मोरङ्ग जिल्ला अदालतमा हाजिर भएकी छन् ।
प्रहरीको फरार सूचीमा रहेकी अञ्जला स्वयं अदालतमा हाजिर भएकी हुन् । कोइरालाविरुद्ध थुनछेक बहस सुरु हुने तयारी भई रहेको अदालत प्रशासनले जनाएको छ । मोरङ धनपालथान गाउँपालिका ४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा तत्कालीन संचालक समिति सदस्य रहेका कारण मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी थिइन् ।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला कोईराला , रंगेली नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् । सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने बित्तकै हाजिर भएकी हुन् । ‘
सहकारी ठगी प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेकी अञ्जला पेशाले शिक्षक हुन् । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति पत्नी अञ्जला विराटनगरस्थित महेन्द्र रात्री माध्यमिक विद्यालयमा पढाउँछिन्।