काठमाण्डौं । काठमाडौंस्थित कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता अदालतमा मुद्दा दर्ता गराएको हो ।
लामिछानेसहित ३९ जनाविरुद्ध सरकारी वकिलले आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ । त्यसक्रममा दायर अभियोग पत्रमा राई र लामिछानेले पहिलो पटक ४ भदौ २०७८ मा ४६ लाख ९८ हजार ऋण लिएको उल्लेख छ । सहकारीको सफ्टवेयरबाट प्रहरीले बरामद गरेको विवरणको कैफियत खण्डमा त्यो ऋण ‘फोर ह्वीलर लोन’ भएको उल्लेख छ ।
पछि १ पुस २०७८ मा फेरि सहकारीबाट दुई जनाको नाममा ऋण प्रवाह भएको छ, त्यसबेला ‘ईको ७ सिटर’ भ्यान खरिद गर्ने भनिएको छ । लामिछाने र राईले चार पांग्रे कर्जाका लागि भनेर सहकारीमा ऋण खाता खोलेर त्यसका लागि निवेदन दिएको प्रहरीले उल्लेख गरेको छ ।सूर्यदर्शन सहकारीको रकम अनियमितता गरेको आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखरा जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ।
यसैगरी, पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नविन अछामी, पूर्वअध्यक्ष कल्पना कुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बराललगायत ३९ जनाविरुद्ध पनि मुद्दा दर्ता भएको सरकारी वकिलले जनाएको छ ।