काठमाण्डौं । अमेरिकामा एकजना न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० ज्यानुअरीका दिन न्यूयोर्कमा सजाय सुनाइने बताएका छन्। राष्ट्रपतिको शपथ लिने मितिको १० दिनअघि त्यस्तो सजाय सुनाइन लागिएको हो। न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले ट्रम्पलाई जेल, जेलबाहिर रहेर चालचलन सुधार्ने मौका वा जरिबाना नतोक्ने बरु निस्सर्त छाड्ने सङ्केत गरेका छन्।
उनले आफ्नो आदेशमा राष्ट्रपति(निर्वाचित ट्रम्प सुनुवाइका लागि प्रत्यक्ष वा भर्चुअल माध्यममार्फत् उपस्थित हुनसक्ने बताएका छन्। ट्रम्पले राष्ट्रपतिमा भएको आफ्नो जितलाई आफूविरुद्धका मुद्दा खारेज गर्न प्रयोग गर्न खोजेका थिए। न्यायाधीशको आदेशबारे प्रतिक्रिया जनाउने क्रममा राष्ट्रपति ट्रम्पले त्यसलाई अवैध राजनीतिक हमला भन्दै त्यो बदनियतपूर्ण परिहास बाहेक केही नभएको बताएका छन्।
ट्रम्पको टोलीले सजाय तोक्ने काममा अघि बढ्ने न्यायाधीशको निर्णयको आलोचना गर्दै कानुनहीन मुद्दा खारेज हुनुपर्ने बताएको छ। गत मे महिनामा पूर्व पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई झूटो व्यापारिक विवरण तयार पारेर १.३ मिलियन अमेरिकी डलर दिएको बारे ३४ वटा कसुरमा उनी दोषी ठहरिएका थिए। ती अभियोग ट्रम्पका पूर्व वकिल माइकल कोएनले सन् २०१६ को चुनावअघि ड्यान्यल्सलाई ट्रम्पसँग भएको भनिएको यौन सम्बन्धबारे चुप रहनका रकम दिएको विषय लुकाउने प्रयास सम्बन्धी छन्। ट्रम्पले आफूले कुनै गलत काम नगरेको भन्दै दोष स्वीकारेका छैनन्।
उनले उक्त मुद्दा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रचार अभियानलाई बिथोल्ने प्रयास स्वरूप ल्याइएको तर्क गरेका छन्। शुक्रवार उनका प्रवक्ताले समेत न्यायाधीशको सजाय सुनाउने आदेशको आलोचना गर्दै ट्रम्पलाई यस्ता कुनै अवरोधबिना राष्ट्रपतीय शक्ति हस्तान्तरण प्रक्रिया जारी राख्न र राष्ट्रपतिका रूपमा महत्त्वपूर्ण जिम्मेवारीहरू कार्यान्वयन गर्न दिनुपर्ने बताए। त्यहाँ कुनै सजाय हुनुहुँदैन र राष्ट्रपति ट्रम्प यी सबै झुट नसकिँदासम्म त्यसविरुद्ध लडिरहनेछन् स्टिभन चियङले भने। ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्दैछन्।