महोत्तरी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने बताएका छन् । कांग्रेस महोत्तरीले शनिबार बर्दिबासमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने भन्दै कार्यकर्ताहरूलाई संगठन निर्माणमा जुट्न आग्रह समेत गरेका छन्।
‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ,’ कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो । त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ ।’
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीसमेत रहेका सिंहले मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको पनि बताए । सर्लाहीको हरिपुर नगरपालिकामा मन्त्रालयले बनाएको व्यावसायिक भवनको उद्घाटनमा जाने क्रममा उनी महोत्तरीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका हुन् ।
मन्त्री सिंह शुक्रबार कांग्रेस सिरहाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । सिंह शनिबार नै रौतहटमा हुने पार्टी कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ ।