काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान चलाइने जानकारी दिए ।,
उनले त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठक सम्बन्धित प्राज्ञिक स्थानमै गएर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सिनेट बैठक सिंहदरबारमा गरेर मेरिटोक्रेसी र पारदर्शिताको विपरीत भएको बताए । त्यस्तै, अन्तर्राष्ट्रिय सबालमा सरकार बेखबर रहेको दाबी गरे । अन्तर्राष्ट्रिय विषयका बारेमा राष्ट्रिय सबालमा एक भएर कसरी बढ्ने भन्नेबारे पनि सरकार उदासीन भएको र सरकार असफल भएको सापकोटाले दाबी गरे । बैठकमा अध्यक्ष प्रचण्डले ६ महिना जनतामा जानुपर्ने बताएको सापकोटाले जानकारी दिए ।
त्यस्तै, परराष्ट्र नीतिका विषयमा पनि सापकोटाले माओवादी असंलग्न नीतिमा प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । उनले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक जनताको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको जानकारी दिए । वर्तमान सरकारको गतिविधिका कारण लोकतन्त्र कमजोर बनिरहेको भन्दै उनले जनतालाई सुसूचित गरियो भने मात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताए । लोकतन्त्रको रक्षा जनताले मात्र गर्न सक्ने उनको भनाइ थियो ।