भक्तपुर । प्रधानसेनापती असोकराज सिग्देलले सैनिक कल्याणकारी कोषद्धारा संचालित सैनिक आवासीय विद्यालयहरुले देशलाई आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरीरहेको बताएका छन् । उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएकाले देश बिकासका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिन सैनिक आवासीय महाबिद्यालय भक्तपुरलाई सल्लाह र सुझाव समेत दिएका छन् । सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुरको ४७ औ स्थापना दिवसको अवसरमा आयोजित बार्षिकोत्सव समारोहमा प्रधान सेनापती सिग्देलले उक्त कुरा बताएका हुन् ।
सैनिक आवासीय महाविद्यालय, सल्लाघारी, भक्तपुरले आफ्नो ४७ औँ वार्षिकोत्सव समारोह धुमधामकासाथ मनाएको छ । विद्यालय प्राङ्गणमा आईतवार विविध खेलकुद एवम् सांस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा बिहान राष्ट्रिय झन्डाको पूजा गरिएको थियो भने दिवाकालीन समारोहमा नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। समारोहको पहिलो चरणमा महाविद्यालयका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका विज्ञान तथा विविध प्रदर्शनीको प्रधानसेनापती सिग्देलले निरीक्षण गरेका थिए ।
कक्षा ६ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकको उपस्थितिमा सञ्चालित वार्षिकोत्सव समारोहको दोस्रो चरणमा महाविद्यालयका विद्यार्थीहरूबाट विभिन्न विधाका खेलकुदका साथै सांस्कृतिक कार्यक्रमका झलकहरू प्रस्तुत गरिएका थिए ।
समारोहमा महाविद्यालयमा दीर्घ सेवा गर्नुभएका शिक्षक तथा उत्कृष्ट वर्ष शिक्षकलाई कदरपत्र प्रदान गर्नुका साथै शैक्षिक एवम् अतिरिक्त क्रियाकलापका विभिन्न विधामा सर्वोत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार एवम् छात्रवृत्ति प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा महाविद्यालयको वार्षिक मुखपत्र सल्लाघारीु को ३३ औँ अङ्क लोकार्पण गरिएको थियो । समारोहमा महाविद्यालयका प्राचार्य दल प्रसाद पुनले मन्तव्य राख्नुभएको थियो भने प्रमुख व्यवस्थापक अधिकृत महासेनानी अशोक बहादुर चन्दले सबैलाई उपस्थितिका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
समारोहमा बलाध्यक्ष रथी प्रदिप जंग के.सी, भक्तपुर नगरपालिका नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष, जिल्ला सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी, सानका अध्यक्ष, विभिन्न विद्यालयका प्राचार्य एवं प्रमुख व्यवस्थापक अधिकृत, पूर्वप्राचार्य, पूर्वसम्पर्क अधिकृत तथा पूर्वशिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।