काठमाण्डौं । तमु ( गुरुङ ) समुदायले सोमबार तमु ल्होसार धुमधामका साथ मनाउँदै छन् । गुरुङ समुदायले गरुड वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउने गर्दछन् । तमु समुदायले परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकआपसमा शुभकामना आदानप्रदान गर्दै पुस १५ लाई ल्होसार ( नयाँ वर्ष ) का रूपमा मनाउँदै आएका छन्।
ल्होसार पर्वकै अवसरमा काठमाडौंको बसन्तपुर हुँदै टुँडिखेलसम्म मौलिक भेषभूषासहितको र्याली निकालिएको छ । र्यालीमा गुरुङ संस्कृति र परम्परा झल्काउने झाँकीहरू समेत प्रदर्शन गरिएको छ । शिरमा लावा, शिरफूल, गलामा कण्ठमाला, जन्तर, लुङ्गी–चोली, पछ्यौरी, घलेकले सजिएका युवती तथा भाङ्रा, भोटो, कछाडसहित टुँडिखेलमा सहभागी युवा–युवतीहरूले निकै रौनकताका साथ ल्होसार मनाइरहेका छन् ।
उनीहरूले गुरुङ समुदायमा आदिमकालदेखि प्रचलित ठाडो भाका, चुट्का, कौडा, सोरठी नाचसँगै खैजडी, च्याबुङ तथा मादलको धुन गुञ्जाइरहेका छन् ।गुरूङ समुदायले तमु ल्होसार मनाइरहेका छन्। र्यालीमा सहभागीहरूले आफ्नो पहिचान झल्किने पहिरनमा सजिएका छन्। टुँडिखेलमा उनीहरूले एक कार्यक्रमको आयोजना गरेका छन्।