काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए ।
सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । थाइल्याण्डको राजधानी बैंककबाट फर्किएको जेजु एयरको विमान स्थानीय समय अनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ ।
दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्दछ ।योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनाको अनुसन्धान थालिएको यातायात मन्त्रालयले जनाएको छ ।