काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आइएमई ग्रूपले कैलालीस्थित घरमै पुगेर चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो । कैलालीको गोदावरी नगरपालिका(९ स्थित बल्मी टोल निवासी रोकायालाई शनिबार उनकै निवासमा पुगेर आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे ।
विदेशमा रहेका नेपालीहरूले कमाएको पैसा नेपाल पठाउने विश्वासिलो माध्यमसँगै वैदेशिक रोजगारीमा रहेकाहरूको आफ्नो र परिवारको समेत सपना पूरा गर्ने माध्यम आइएमई बन्न सफल भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष ढकालले विजेता बनेकी रोकायालाई शुभकामना दिए । चेक बुझ्दै गर्दा रोकायाले आफ्ना बाबुआमाका लागि घर बनाउने सपना रहेको पनि बताइन् ।
गत असोजमा आइएमईका ब्रान्ड एम्बासडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्रमार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् । आइएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो ।
सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए । आइएमई गरी आइएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए ।