काठमाण्डौं । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन् । पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताएका हुन् ।
उनले भनेका छन्, मैले नेपाली गीत धेरै गाएँ पनि नेपालमा कन्सर्ट भने गरेको छैन । अहिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म प्रतीक्षामा छु । नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन । आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याउन लागिएको बताए ।
१२ हजार दर्शक क्षमता रहेको ह्यात चौरमा छ हजार दर्शकले टिकेट खरिद गरिसक्नुसकेको निर्देशक घिमिरेले जानकारी दिए । गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् । यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन् । कार्यक्रमका लागि न्यूनतम दुई हजारदेखि अधिकतम ५० हजारसम्मको टिकेट राखिएको आयोजकले जनाएको छ ।