काठमाण्डौं । नेपालमा पुनः मंकिपक्स संक्रमण देखिएको छ । बिहीबार साउदी अरेबियाबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषलाई मंकीपक्स संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । विदेशबाट नेपालमा आएका व्यक्तिमा मंकीपक्स देखिएको यो दोस्रो घटना हो ।
यसअघि ०८० असारमा विदेशबाट आएकी ६० वर्षीया विदेशी महिलामा मंकीपक्स संक्रमण देखिएको थियो । नेपाली नागरिकमा यस्तो रोगको संक्रमण पहिलोपटक देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार संक्रमण पुष्टि भएका व्यक्तिमा मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएसँगै उनलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचारका लागि राखिएको छ ।
पछिल्लोपटक १११ मुलुकमा मंकीपक्स फैलिइसकेको छ । मंकीपक्स एक प्रकारको ‘भाइरल जुनोसिस’ हो, अर्थात् यो जनावरबाट मानिसमा सरेको भाइरस हो । मानिसमा संक्रमण हुँदा छाला, अनुहार, हत्केला र पैतालामा बिबिरा देखापर्ने, बिबिरा परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, ज्वरो आउने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थीहरू बढ्नेजस्ता लक्षण देखिन्छन् । यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशमा पाइन्छ । अफ्रिकाबाट नै यो भfइरस अन्यत्र फैलिएको बताइन्छ ।