काठमाडौं । प्रधानमन्त्री केपी ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा। सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीनिवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले सूचनाको हक उपयोग गर्दा त्यो न्यायोचित भए–नभएको निर्क्योल गरी अराजकताले प्रश्रय पाउन नहुने बताए ।
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति थियो । मन्त्रिपरिषद्को यही मंसिर ६ गतेको बैठकले उनीहरूलाई आयोगमा नियुक्त गरेको हो ।