काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । मंगलबार दिउँसो बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेका ओलीले मंसिर १७ देखि २० गतेसम्म गरेको चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री ओली चिनियाँ समकक्षीको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमणमा गएका थिए । सो भ्रमणमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्क सहकार्यमा हस्ताक्षर भएको थियो । सो सम्झौतालाई नेपालले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘प्रधानमन्त्रीको भ्रमण निकै सफल रह्यो। अन्य सहमतिहरूका अतिरिक्त खास गरेर फ्रेमवर्क फर बिआरआई को(अपरेसनमा जुन सम्झौता भएको छ, त्यो नेपालको दीर्घकालीन विकासका लागि निकै महत्त्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निष्कर्ष निकालेको छ’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले भने ।
एमालेले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको अन्य सहमति र सम्झौताले बीआरआई कार्यान्वयनका लागि ढोका खोलेको निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिए । यद्यपि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने नबोलेको स्रोतले जनाएको छ । ओलीको चीन भ्रमण टोलीमा रहेका उपमहासचिव तथा प्रधानमन्त्तीका मूख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले चीन भ्रमणबारे झण्डैएक घण्टा सचिवालय सदस्यहरुलाई ब्रिफिङ गरेका थिए ।
यसैबीच एमालेले गत मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम नआएको ठहर गरेको छ । गत निर्वाचनमा गुमाएका एक पालिका अध्यक्ष र दुई उपाध्यक्ष जितेपनि काठमाडौंको कीर्तिपुर नगरपालिका र काठमाडौं १६ मा उल्लेख्य मत ल्याउन नसकेको बैठकले निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिए ।
‘हाम्रा जितेका ७ वटा पद रिक्त भएको थियो। त्यसमा एउटा अध्यक्ष, दुई उपाध्यक्ष र पाँचवटा वडाध्यक्ष जितेका छौं। तथापि हामीले परिणामलाई गम्भीरतापूर्वक लिएका छौं। खास गरी काठमाडौं, कीर्तिपुर, काठमाडौंको १६ नम्बर वडा, कीर्तिपुरका केही वडामा हामीले जे परिणामको अपेक्षा गरेका थियौं, सोचेजस्तो परिणाम आएन। यसमा हामी गम्भीर छौं। सहरी जनमतसँग पार्टीलाई जोड्दै लैजानुपर्ने देखिएको छ,’ ज्ञवालीले भने ।
गत मंसिर १६ गते स्थानीय तहका रिक्त ४१ पदमा उपनिर्वाचन भएको थियो । त्यसमा एमालेले ५ वडाध्यक्ष, एक पालिका अध्यक्ष र दुई उपाध्यक्ष जितेको थियो । ०७९ मा गुमाएको दैलेखको महाबु, दोलखाको गौरिशंकर र बाजुराको स्वामीकात्तिक खापरमा पुरानो विरासत फर्काएपनि काठमाडौंको कीर्तिपुर नगरपालिकामा एमाले तेस्रो भएको थियो ।