काठमाण्डौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि, आजको मौसम भने सफा रहनेछ । आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबिच रहनेछ ।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै, तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । यसैगरी, राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ ।
प्रातःकालमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरूप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।