काठमाण्डौ । नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेकी छिन् । छोरी स्मितालाई विवाहको शुभकामना सन्देश पठाएको भन्दै गंगाले मोदीलाई सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेकी हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले स्मिता र सायुज्यलाई जीवनभरको विश्वास र एकताको यात्रा सुरु गरेकोमा हार्दिक बधाई दिएका छन् ।
गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’
मोदीले गंगा दाहालको नाम उल्लेख गरेर भारतीय प्रधानमन्त्रीको लेटरहेडमा पठाएको शुभकामनामा स्मिता र उनका पतिलाई वैवाहिक जीवनको शुभकामना व्यक्त गरेका छन् । आफूलाई विवाह समारोहमा सरिक हुन निमन्त्रणा दिईएकोमा मोदीले धन्यवाद भनेका छन् । साथै, मोदीले प्रचण्डको नामसमेत उल्लेख गरेर शुभकामना दिएका छन् ।