काठमाण्डौं । देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूस पुगेको खुलेको छ। रूसको समाचार संस्था तासले क्रेमलिनलाई उद्धृत गर्दै सिरियाली राष्ट्रपति असद मस्को पुगेको उल्लेख गरेको छ। असद र उनका परिवार मस्को पुगेका छन्। मानवीयताका कारण उनीहरूलाई रूसले शरण दिएको छ,ु क्रेमलिनका एक स्रोतलाई उद्धृत गर्दै तासले लेखेको छ।
क्रेमलिनले सिरियाका विद्रोही संगठनका नेताहरूसँग पनि कुराकानी गरेको उनीहरुले सिरियाको भूमिमा रहेको रूसी सैन्य अड्डाहरू र कुटनीतिक नियोगहरूको सुरक्षाको ग्यारेन्टी गरेको तासको समाचारमा उल्लेख छ। रूस सधैं सिरियाली संकटको राजनीतिक समाधानको पक्षमा बोलेको छ। हामी संयुक्त राष्ट्रको मध्यस्थतामा वार्ता पुनस् सुरु गर्न जोड दिन्छौं,ु क्रेमलिनका ती स्रोतले भनेका छन्।
आइतबार सिरियाका मुख्य मुख्य सहर कब्जा गर्दै विद्रोही लडाकुहरु दमास्कस पुगेपछि राष्ट्रपति असदले देश छाडेका थिए। यद्यपि उनी कहाँ गए भन्ने गोप्य राखिएको थियो। उनी चढेको हेलिकप्टर दुर्घटना भएको समेत हुनसक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले विभिन्न स्रोतलाई उद्धृत गरेर लेखेका थिए। असदले देश छाडेलगत्तै विद्रोही लडाकूहरुले सिरिया असदको शासनबाट मुक्त भएको घोषणा गरेका छन्। त्यहाँका प्रधानमन्त्रीले पनि विद्रोही लडाकूसँग मिलेर सिरियाली नागरिकहरुलाई उनीहरूको हक अधिकार र स्वतन्त्रता प्रत्याभूत हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।