काठमाण्डौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवन एनपिएलका चार खेल खेलेर फर्किएका छन्। आइतबार सगरमाथा आधार शिविरको भ्रमण गरेर उनी स्वदेश फर्किएका हुन्।
हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले उनलाई चार खेलको लागि भित्र्याएको थियो। उनी कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीसँग आइतबार बिहान सगरमाथा आधार शिविर पुगेका थिए। कर्णाली याक्सले जनाएअनुसार धवनले झन्डै चार घण्टा सगरमाथा आधार शिविरमा बिताएका थिए।
कर्णाली याक्सबाट एनपिएल खेल्न नेपाल आएको मौका छोपेर उनले केही दिनअघि पशुपतिनाथको पनि दर्शन गरेका थिए। उनले आगामी मार्च महिनामा फेरि नेपाल आउने इच्छा व्यक्त गरेको कर्णालीले जनाएको छ।
एनपिएलमा कर्णालीले खेलेको पहिलो चार खेलमा मैदान उत्रिने क्रममा धवनले एक अर्धशतकसहित १३६ रन बनाएका थिए। नेपालमा आएर एनपिएल खेल्दा आफूले छुट्टै रोमाञ्चक अनुभव गरेको बताए। ‘राम्रो अनुभव भयो। नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही सिक्ने मौका पाएँ,’ उनले भने।