कैलाली । कैलालीका उद्योगी–व्यवसायीले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई सुदूरपश्चिम विकासका लागि विभिन्न मागसहितको १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटनका अवसरमा कैलाली उद्योग वाणिज्य संघले मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो ।
संघले भारतसँग जोडिएको गौरीफन्टा नाकालाई सुविधासम्पन्न नाकाका रूपमा स्तरोन्नति गर्नुपर्ने, कृषि विश्वविद्यालय स्थापना, प्रदर्शनीस्थल स्थापना, सुदूरपश्चिममा उद्योग स्थापनाका लागि कर छुट दिनुपर्नेलगायतका माग गरेको छ । ०६३ मा महोत्सव सुरु गर्दा संघले तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनमा बोलाएर यहाँको विकासका २१बुँदे मागसहित २१ किलोको माला पहिर्याएको थियो ।
तीमध्ये केही माग पूरा भएका र केही आंशिक पूरा भएका संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । अध्यक्ष कुँवरले अहिले धराशायी हुँदै गएको व्यवसाय क्षेत्र उकास्ने योजना ल्याउन सरकारलाई आग्रह गरे । उनले यहाँ स्थापना हुने उद्योगलाई राज्यले कर छुट दिनुपर्ने माग गरे ।
‘उद्योग स्थापनाका लागि जग्गाको समस्या छ । राज्यले नाकाको स्तरोन्नति गरिदिनुपर्छ,’ अध्यक्ष कुँवरले भने, ‘अहिले उद्योग, व्यवसाय टिकाउन सकिएको छैन, यसले आर्थिक विकास र रोजगारीमा पनि असर परेको छ । सरकारले निजी क्षेत्र उकास्ने कार्यक्रम ल्याउन ढिलो गर्नुहुँदैन ।’
महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय ३१ वटा स्टल राखिएका छन् । स्टलहरूबाट करिब १५ करोड मूल्यबराबरको आर्थिक कारोबार हुने संघको अनुमान छ । व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरूको खोजी गर्दै संघले हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ ।