काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको बढ्दो फैलावट रोक्न एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै मन्त्रालयले समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेको हो।
रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरू जनस्तरमा पुर्याउने उद्देश्यका साथ हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरू ९मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात० पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका, २०८१’ स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।
बढ्दो मिर्गौला फेल र डायलाइसिस गराउनुपर्ने बिरामीको संख्याका कारण डायलाइसिस सेन्टरहरू थप्नुपरेको भन्दै समयमै जाँचको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामीसमेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र बिरामी दुवैले मार खेप्नुपरिरहेको समेत मन्त्रालयले जनाएको छ। ‘बिरामी भएपछि हुने उपचारका लागि हामीले ठुलो स्रोतसाधन खर्चनुपरिरहेको छ,’ मन्त्री प्रदीप पौडेलले भने, ‘हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँगसँगै लाग्नेछौँ।’
उनले सुरुवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठुलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित स्रोतसाधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यसले भूमिका खेल्ने बताए। मन्त्रालयको तथ्यांकले पछिल्लो समय मिर्गौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने प्रकृतिका रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा बढिरहेको देखाउँछ।