तनहुँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्लेले बताएका छन् । प्रधानमन्त्री ओली मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको बेला रास्वपाका उपसभापतिबाट उक्त प्रतिक्रिया आएको हो ।
तनहुँको दमौलिमा आयोजित पार्टी कार्यक्रममा सांसदसमेत रहेका रास्वपा उपसभापति वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका हुन् ।
वाग्लेले चीनमात्रै नभई भारतलगायत बहुपक्षीय निकायबाट सहयोग लिनुपर्ने धारणा राखे । नेपालमा पूर्वाधारको अभाव खड्किएकाले सहयोगी निकायबाट अनुदान वा ऋण लिनुपर्ने वाग्लेको भनाइ छ । एक प्रतिशत ब्याज भए ऋण नै लिए पनि फरक पर्दैन । ३०र४० वर्षमा रकम फिर्ता गर्नुपर्ने प्रकृतिको ऋण भए स्वीकार्नुपर्छ, उनले भने, केही राजनीतिक दलले चीनबाट ऋण लिनैहुँदैन भन्ने प्रकृतिका अभिव्यक्ति दिनु अपरिपक्व छ । सन्तुलित र परिपक्व हिसाबले नेपाल अगाडि बढ्नुपर्छ ।
उपसभापति वाग्लेले रास्वपा मिसन २०८४ को तयारीका लागि अहिलेदेखि नै लाग्नुपर्नेमा जोड दिए । उनले पार्टी सभापति रबि लामिछाने पक्राउपछि केही तयारीमा ढिलाइ हुँदा आसन्न उपनिर्वाचनमा केही ठाउँमा पार्टीका उम्मेदवार नउठाइएको प्रष्ट पारेका थिए ।