काठमाण्डौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले २०७० चैत्र १४ देखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ९४ औँ शृङ्खलामा साहित्य सिर्जना, अध्यापन, विभिन्न सङ्घसङ्गठन एवम् संस्थाहरूमा नेतृत्व तथा सामाजिक रूपान्तरण अभियानमा क्रियाशीलता जनाइरहेका सशक्त प्रगतिवादी स्रष्टा प्रभाती किरणका एक दर्जन कविता गुञ्जिए ।
कवि डा.गोविन्दप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विशेष समारोहको अध्यक्षता राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालकी सदस्य देबु लुइटेलले सञ्चालन गर्नुभएको उक्त विशेष समारोहमा अग्रज स्रष्टा नर्मदेश्वरी सत्याल, महेशराज खरेललगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
अध्यक्ष राम विनयले कविनायकलाई माल्यार्पण गरी स्वागत गर्नुभएको थियो भने डा.हरिप्रसाद सिलवालले कविनायकको परिचय दिनुभएको थियो । साहित्यमा यथार्थवादी मान्यताका पक्षधर रहनुभएका प्रभाती किरण नेपाली साहित्यका गजल र समालोचना विधामा कलम चलाउने र शिल्प र कलाले युक्त गजल सिर्जना गर्नुहुन्छ । उहाँ नेपाली समाजको यथार्थलाई, विकृति एवम् विसङ्गतिलाई सिर्जनाका माध्यमबाट उजागर गरी रूपान्तरणको स्पष्ट दृष्टिकोण सम्प्रेषण गर्ने अहिलेको समयका सक्रिय स्रष्टा भएको जानकारी पनि डा.सिलवालले दिनुभयो ।
समारोहका अध्यक्ष राम विनयले २०७० चैत्र १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा.मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को आज हामी ९४ औँ शृङ्खला सम्पन्न गर्नलागिरहेका छौँ । देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका एकजना स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई उनका एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी परिष्कार परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा आज नेपाली प्रगतिवादी कविताअभियानमा योगदान गर्दै साहित्य सिर्जना गरिरहेका स्रष्टा प्रभाती किरणलाई प्रस्तुत गरिएको हो । यो विशेष समारोहमा कविता सुनाउने कविका कवितामाथि गरिने समीक्षालाई समीक्षकसँग लिखितरूपमा माग गरी प्रकाशन गर्ने पनि यो विशेष समारोहको उद्देश्य हो । आजको यो विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकार गरी उपस्थित भइदिने कविनायक, प्रमुख अतिथि, अतिथिहरू तथा स्रष्टाहरू सबै सबैलाई हार्दिक स्वागत गर्दछु । हामी स्रष्टाले अराजकतावादको विरोध गर्नुपर्ने, कविता भनेको भावनाको प्रखर अभिव्यक्ति हो र यसले सामाजिक रूपान्तरणको संवाहकको भूमिका निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात गरी स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्दै सहित्यको सिर्जना गर्नुपर्ने हाम्रो मान्यतालाई आत्मसात गर्ने यिनै कुशल स्रष्टाका एक दर्जन कविता र ती कवितामाथिको समीक्षा आज हामी सुन्ने छौँ भन्नुभयो ।
कविनायक प्रभाती किरणले कविता सिर्जनाको रचनागर्भका बारेमा जानकारी गराउँदै कतै न कतैबाट मूल्याङ्कन गरी यति लामो इतिहास निर्माण गरिसकेको यो महत्त्वपूर्ण ‘अविरल जनसाहित्य यात्रा’को अभियानमा यतिका विद्वान स्रष्टा तथा व्यक्तित्वका सामुन्ने पहिलोपटक आफ्ना एक दर्जन गजल सुनाउने सुअवसर प्राप्त भएकोमा गौरवान्वित महसुस गरेको छु । यो अत्यन्त महत्त्वपूर्ण, सबैभन्दा महत्त्वपूर्ण एकल कवितावाचनको अवसर आज मैले प्राप्त गरेको अनुभूति पनि गरेको छु भन्दै सातओटा सुन्दर एवम् सशक्त गजल वाचन गर्नुभएको थियो । त्यसैगरी सहयोगी कविहरू ज्ञानु विद्रोहीले दुईवटा तथा कवि सुपुत्र पुस्कलले दुईवटा तथा गजलकार केशव भट्टराईले एउटा पनि त्यस्तै सुन्दर तथा सशक्त गजल वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन गजलमाथि टिप्पणी गर्नुहुँदै समीक्षक डा.नारायण गैरेले अविरल जनसाहित्य यात्राको यो सोद्देश्यमूलक अभियान ९४ औँ शृङ्खलामा पुगेको रहेछ । यो अभियानमा उपस्थित भएर आज कुशल एवम् अग्रज गजलकार प्रभाती किरणका एक दर्जन गजल सुन्ने र ती गजलमाथि टिप्पणी गर्ने अवसर पाउँदा खुसी पनि लागेको छ । गजलकार किरणले समाजमा समग्र विसङ्गतिका विषयलाई विषयवस्तु बनाएर विम्ब, प्रतीक र अलङ्कारको सुन्दरसंयोजन गरी गजलका माध्यमबाट बोलिरहेका छन्, सामाजिक रूपान्तरणका पक्षमा स्पष्ट वकालत गरेका छन् । गजलले उठान गरेको विषयवस्तु र प्रस्तुति नै सशक्त र बेजोड छ । प्रगतिशील स्रष्टाले आफ्ना सिर्जनामा विचारको अन्तरघुलन गर्नु आवश्यक हुन्छ रआज वाचित हरेक गजल चिन्तनमननका उपजजस्ता लाग्छन् भन्ने धारणा राख्नुभयो ।
प्रमुख अतिथि डा.गोविन्दप्रसाद आचार्यले अविरल जनसाहित्य यात्राको यो शृङ्खलामा आज सक्रिय, सशक्त एवम् प्रगतिवादी कवि तथा गजलकार प्रभाती किरणलाई सुनियो । आज सुनिएका गजलकार किरणका गजलहरू सशक्त छन् । शिल्पका दृष्टिमा उत्कृष्ट रहेका यी गजलमा विचारलाई अझ सशक्त बनाउन पनि जरूरी छ किनभने रूपान्तरणको बलियो हतियार भनेकै विचार हो । अहिले अराजकता अलि बढी उत्ताउलो तरिकाले देखिन थालेको हुँदा स्रष्टाले सशक्त विचारका माध्यमबाट अराजकता र भ्रमका विरुद्धमा उभिनु जरुरी रहेको छ भन्ने धारणा राख्नुभयो ।
समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्व तथा समारोहका कविनायक तथा परिवारका सदस्यलाई धन्यवाद दिँदै सङ्घकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालले सिर्जना, अध्यापनमा सक्रियता देखाइरहेका; सामाजिक रूपान्तरण अभियानमा सक्रिय, अथकित, अविश्रान्त स्रष्टा प्रभाती किरणलाई आज हामीले सुन्यौँ । गजलमा अत्यन्त सरल एवम् सुबोध्य भाषाशैलीमा गम्भीर भाव सम्प्रेषण गर्ने किरण स्पष्ट आशावादी जीवनदृष्टि सम्प्रेषण गर्ने शिल्पी हुन् । यिनै अत्यन्त कुशल स्रष्टाका बारेमा हामीले सुन्यौँ, कविता सुन्यौँ, परिचर्चा गर्यौँ र यो शृङ्खला हामी सबैका लागि धेरै हदसम्म अविस्मरणीय रहेको छ । अब हामी पुस महिनामा ९५ औँ ‘अविरल जनसाहित्य यात्रा’मा नेपाली प्रगतिवादी साहित्यमा निरन्तर क्रियाशील रहिरहेका स्रष्टा देविका तिमिल्सिनालाई प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने नै छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।
Trending
- राष्ट्रिय एकता दिवसको अवसरमा भृकुटीमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जलपान
- सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर नभएको नैनसिंह महरको आरोप
- थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
- अमेरिकाको लस एन्जलसमा आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो
- गैरआवासीय नेपालीले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने
- चन्द्रागिरिको डाँडाबाट नेपालका वरिष्ठ कवि तथा सर्जकहरूले सम्झिएका पृथ्वीनारायण
- राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
- आज देशभर ३०३ औँ पृथ्वीजयन्ती मनाइँदै
अविरल जनसाहित्य यात्रा–९४’मा सशक्त प्रगतिवादी कवि प्रभाती किरणका एक दर्जन कविता गुञ्जिए
Related Posts
उपयोगी लिंकहरु
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक: जनक राज पण्डित
अध्यक्ष: बिना थापा (कार्की)
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
© 2025 Transparentkhabar.com | Designed & Developed by freelancerunit