मकवानपुर । गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेको छ । मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम सुरु गरेको हो । विभागबाट आएका ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । टोलीले घटना स्थलको भूबनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।
विभागका भूगर्भविद् नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था, माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने बताए । शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै जमिनमा भासिएर बेपत्ता भएको गाडी धनी हरिराम राईले बताएका छन् । सो गाडीको खोजी जारी राखिए पनि अहिलेसम्म भेटिएको छैन ।
गाडी भासिएको त्यो ठाउँमा अहिले ठूलो खाल्डो परेको छ र त्यो खाल्डो धमिलो पानीले भरिएको छ । बाटोमा गुडिरहेको गाडी भासिएर जमिनमुनि हराएको घटनाले धेरैको ध्यान तानेको छ । गाडी हराएको दुई दिनपछि बल्ल हेटौंडा उपमहानगरपालिकामा विपद व्यवस्थापन समितिको बैठक बसेर भूगर्भविदको सहयोग लिने निर्णय भएको थियो । सोही अनुसार भूगर्भविदको टोली हेटौंडा पुगेर अध्ययन थालेको छ ।