काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि माधव नेपाल विशेष अदालतमा बयानको लागि उपस्थित भएका छन् । आफ्ना कानून व्यवसायीहरुको साथमा माधव नेपाल आज विशेष अदालतमा उपस्थित भएका हुन् । काभ्रेको पतञ्जली जग्गा प्रकरणमा नेपालमाथि अख्तिया र दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
नेपालनिकट एक नेताकाअनुसार अहिले उनको बयान सुरु भैसकेको छ । विशेष अदालतको इजलास नम्बर २ मा न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले उनको बयान लिन सुरु गरेका छन । नेपालको बयान सकिएपछि थुनछेक बहस सुरु हुने भनिएको छ ।
नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलिलाई अवैध तरिकाले जग्गा बिक्रीको अनुमति दिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । गत जेठ २२ गते नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नेपालका हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी भएको छ ।