काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक सङ्घले दिएको निवेदन उपर छलफल र आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगति सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ । त्यस्तै बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा हुनेछ ।
यसैगरी ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवं प्रतिवेदनको मस्यौदा उपर छलफल सम्बन्धमा छलफल हुनेछ ।