काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय ९जिप्रका० काठमाडौंले बिहीबार हुने कार्यक्रमको सुरक्षाको सबै तयारी पूरा भएको जनाएको छ। राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को आन्दोलन र गणतन्त्र दिवसको अवसर पारेर एमालेले मनाउन लागेको उत्सव एकै दिन परे पनि दुवैलाई आमने– सामने पर्न नदिनका लागि सुरक्षा निकाय तयारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताएका छन्।
‘नेकपा एमालेले १०ः३० देखि २ बजेसम्म कार्यक्रम सकाउने तयारी गरेको छ,’ प्रवक्ता समेत रहेका भण्डारीले भने, ‘राप्रपाले त्यसपछि कार्यक्रम गर्छ भन्ने हामीले विश्वास लिएका छौं।’ राप्रपाले कुनै लिखित जानकारी नगराएपछि पार्टी अध्यक्षलाई समयको बारेमा जानकारी गराइएको उनले बताए। ‘हामी सकभर दुवै पक्षलाई आमने–सामने नपरुन् भन्ने चाहन्छौं,’ उनले भने, ‘त्यस्तो स्थिति आउन नदिनको लागि सुरक्षाका सबै निकाय तयार अवस्थामा रहन्छन्।’
यसअघि राप्रपाले जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई रत्नपार्कमा आन्दोलन गर्न लागेको बताएको छ। राप्रपाले सभा नभई आन्दोलन गर्न लागेकाले अनुमति लिनु नपर्ने प्रवक्ता मोहन श्रेष्ठले बताए। ‘सभा गर्न लागिएको भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्थ्यो,’ उनले भने, ‘हामीले आन्दोलन गर्न लागेका हौँ। आन्दोलन गर्नका लागि अनुमति लिनु पर्दैन।
राप्रपाका प्रवक्ता श्रेष्ठका अनुसार राजावादीहरूले बिहीबार बिहान ११ बजे विभिन्न ठाउँबाट निस्केर दिउँसो एक बजे रत्नपार्कमा जम्मा हुने कार्यक्रम तय गरेका छन्। उनका अनुसार बिहीबारदेखि सुरु हुने भनिएको आन्दोलन शान्तिपूर्ण हुनेछ। सरकारले भने राजावादीहरूलाई बिहीबार काठमाडौंको चक्रपथबाट भित्र छिर्न नदिने तयारी गरेको छ।