काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी छ । बैठकमा सांसद अच्युतप्रसाद मैनाली कृषिलाई रोजगारमुखी र व्यावसायिक बनाउनुपर्ने र लक्षित वर्गसम्म नयाँ ढङ्गबाट उत्पादनमा आधारित सहुलियत दिनुपर्ने सुझाव दिए ।
सांसद पूर्णकुमार घर्तीमगरले बजेटसम्बन्धी नीति तथा कार्यक्रम नै राष्ट्रको एउटा सिद्धान्त भएको र खर्च गर्न सकिने खालको बजेट ल्याउनुपर्नेमा सुझाव दिए । सांसद अशोककुमार चौधरीले बजेटमाथिको छलफल औपचारिकता मात्र नभएर न्यायोचित, सन्तुलित र दिगो विकासमा केन्द्रित हुनुपर्ने बताए ।
सांसद उदय शम्शेर जबराले पर्यटन क्षेत्रमा हवाई टिकटमा १३ प्रतिशत भ्याट लगाएकाले र टिकट महँङ्गो भयो भने पर्यटक नेपाल आउन कठिने हुनेप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद महेश बस्नेतले देशको वस्तुगत यर्थाथलाई बजेटको सिद्धान्त र प्राथमिकता समेटेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धिका लागि बजेट केन्द्रित गर्नुपर्नेमा सुझाव दिए ।
सांसद ज्ञानु बस्नेत सुवेदीले विकासको मूल आधार कृषि भएकाले जमिनको व्यवस्थापन, बजार तथा भण्डारको व्यवस्थापनका साथै भौतिक पूर्वाधार विकासमा समेत बजेटको सिद्धान्त र प्राथमिकता उत्कृष्ट भएको बताइन् । सांसद सूर्यप्रसाद ढकालले शिक्षा, स्वास्थ, पूर्वाधार, अर्थतन्त्रको ढाँचाको सुधार गर्न खोजेको र प्राथमिकता तथा प्रतिफल हुने क्षेत्रमा मात्र बजेटले योजना अघि सारेको बताए ।
सांसद सराज अहमद फारूकीले दुर्गम तथा पछाडि परेको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने र विपद् व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिए । सांसद सरस्वती सुब्बाले ७५३ वटै स्थानीय तहमा कृषि भूमिको संरक्षण गर्न कित्ताकाट बन्द गर्नुपर्ने र जलवायु परिर्वतन न्यूनीकरण गर्नका लागि स्थानीय तहसँग सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।
सांसद नारायणप्रसाद आचार्यले मुलुकलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू ल्याउनुपर्ने र नारामा मात्र नभएर व्यवहारमा कार्यान्वयन हुने खालका बजेट आउनुपर्ने बतानुभयो । सांसद प्रतिक्षा तिवारीले देशको समग्र विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा सन्तुलित विकास गर्न आवश्यक रहेको र मुुलुकको आर्थिक समृद्धि गर्ने खालको हुनुपर्नेमा सुझाव दिइन् ।
सांसद सुशीला श्रीपाली थकालीले कृषिमा लगानी दशक र वैज्ञानिक तालमेल हुनुपर्ने र अर्थतन्त्रलाई बलियो बनाउने विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै योजना बनाउँदा बजेटले धान्न सक्ने खालको बनाउनुपर्ने बताइन् । सांसद लक्ष्मी तिवारीले नीतिहरू धेरै भए पनि महिलामैत्री बजेटमा नभएको र अर्थतन्त्र सुधार गर्नका लागि महिलाको महत्त्वपूर्ण भूमिका रहेकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइन् ।
सांसद सरस्वती बजीमायाले नेपालमा धेरै नदीनाला हुँदाहुँदै पनि विद्युत् उत्पादन पर्याप्त मात्रामा गर्न नसकेको र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन विद्युत् उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइन् । सांसद ऋषिकेश पोखरलले राजस्व बढाउने क्षेत्रमा बढी ध्यान दिनुपर्ने र मुलुकको आर्थिक समृद्धिमा बजेट, नीति तथा कार्यक्रम हुनुपर्ने सुझाव दिए ।
सांसद उर्मिला माझीले विकास निर्माणका कामहरूमा निर्माण व्यवसायीले ढिलोमा टेन्डर लिने कामको अन्त्य गर्नुपर्ने र काम गर्न सकिने खालका बजेटहरू निर्माण गर्नुपर्नेमा जोड दिइन् । सांसद गणेश पराजुलीले नवीतम सोच र समृद्धिका लागि सिद्धान्त र प्राथमिकता तय गर्नुपर्ने र त्यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्नेमा बताए ।
सांसद कुसुमदेवी थापाले कृषि, पर्यटन, उद्योगलाई ध्यान दिएर युवालाई स्वदेशमै रोजगार दिने खालका कार्यक्रम ल्याउनुपर्ने धारणा राखिन् । सांसद हेमराज राईले आर्थिक विकासका लागि समग्र स्रोत तथा साधनको समुचित विकास र दिगो विकासका लागि बजेट बनाउनुपर्ने सुझाव दिए । छलफलका लागि प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते ११ बजे बस्नेछ ।