काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकहरूको हक र हितका लागि काम गर्न नसकेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन्। उनले आजपनि नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भए पनि वैदेशिक रोजगारमा रहेका नागरिकहरूको श्रमको सम्मान गर्न नसकेको आरोप लगाए। उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको तलबभत्ता विदेशबाट पठाइएको रेमिटेन्सले धानेको छ हामीले नुनको सोझो गर्नु पर्दैन ? भन्दै प्रश्न गरे।
वैदेशिक रोजगारीको नाममा आजपनि लाखौं मानिसहरू दलालबाट ठगिएको उनको भनाइ छ। वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक कुटनीतिक पहल गर्न नसकेको उनको आरोप छ। वैदेशिक रोजगारीको लागि जहाँ गए पनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्न उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।