काठमाडौं । भारतको आसाममा पक्राउ परी शुक्रवार बिहान मात्रै झापाको काकडभिट्टा ल्याई पुर्याइएका मेडीकल ब्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएर व्यवसायी प्रसाईलाई बुद्ध एअरको बिमानमार्फत काठमाण्डौ ल्याईएको हो ।
प्रसाईलाई बिमान चढाउन्जेलसम्म उनको हातमा हतकडी लगाईएको थियो भने बिमानमा बसाल्दा भने हतकडी खोलिएको थियो । काठमाण्डौ उतारीएका उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेको छ ।
अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । तीनकुनेमा गत १५ गते अराजकता मच्चाउने समूहका जनकमाण्डर प्रसाईंमाथि अनुसन्धानका लागि आजै म्याद थप गर्ने तयारी भएको बुझिएको छ । प्रसाईसँगै उनका अंगरक्षक दिपक खड्कालाई समेत आजै पक्राउ गरीएको थियो । तस्बिरः राजकुमार ओली/ रासस