बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–७ मा रहेको पर्यटकीय क्षेत्र नरसिंहकोटलाई बुर्तिवाङ बजारसँग जोड्न रेलिङसहितको पदमार्ग बनेको छ। यो पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई नरसिंहकोट पुग्न सजिलो बनाउने लक्ष्य राखिएको छ।
पर्यटन तथा उद्योग कार्यालय बागलुङमार्फत यो पदमार्ग निर्माण भएको हो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा छुट्याएको १० लाख रुपैयाँ बजेटबाट काम सम्पन्न भएको योजना अधिकृत नारायणप्रसाद रिजालले बताए। उनले भने, ‘उपभोक्ता समितिले ढोरपाटन नगरपालिका–२ सेरादेखि करिब २५० मिटर पक्की रेलिङसहितको पदमार्ग बनाएको छ।’
बाइसे चौबिसे राज्यकालमा भूरे राजाले शासन गरेको नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। निसीखोला गाउँपालिका–७ का अध्यक्ष दीपक कुँवरले भने, ‘पूर्वाधार थपिएपछि पर्यटकको आकर्षण बढेको छ। बुर्तिवाङ बजार नजिकै भए पनि पहिले पुग्न गाह्रो थियो, अब पदमार्गले सहज बनाएको छ।’ उनले गाउँपालिकाले २० लाख रुपैयाँ खर्चेर कालिका मन्दिर, खानेपानी, शौचालय र विश्रामस्थल पनि बनाएको जानकारी दिए। साथै, त्यहाँ खेलमैदान पनि बनिरहेको छ।
नरसिंहकोट पुग्न बुर्तिवाङ बजारबाट गाडीमा एक घण्टा र पैदल साढे एक घण्टा लाग्छ। सालझण्डी–ढोरपाटन सडकबाहेक अर्को बाटो नहुँदा गाडीमा जाँदा लामो पर्छ। अध्यक्ष कुँवरको भनाइ छ, ‘पहिले यो ठाउँ ओझेलमा थियो, तर अहिले चर्चामा आएको छ। हरेक दिन पर्यटक आउँछन्, बिदाको दिन त झन् भीड हुन्छ। हामीले पूर्वाधार बनाउने र प्रचारप्रसार गर्ने कामलाई तीव्रता दिएका छौँ।’
नरसिंहकोटबाट बुर्तिवाङ बजार, बागलुङका विभिन्न ठाउँ, म्याग्दी, प्युठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँचीजस्ता जिल्ला देख्न सकिन्छ। साथै, धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खला र उच्चपहाडी क्षेत्रको मनोरम दृश्य पनि सहजै अवलोकन गर्न सकिन्छ। रासस