काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का महामन्त्री शरदराज पाठकले राज्यले आजको आन्दोलनलाई पनि १५ गतेको जस्तै हिंसात्मक बनाउन चाहेको बताएका छन् । उनले राप्रपाको आजको आन्दोलनलाई पनि सरकारले जबर्जस्ती र बल प्रयोग गर्न चाहेको बताएका हुन् । उनले राप्रपा हिंसामा विश्वास नगर्ने पार्टी रहेको बताउँदै एकदमै संयमित भएर प्रदर्शन हुने बताए ।
‘राज्यले आजको प्रदर्शनलाई पनि हिंसात्मक बनाउन खोजेको, जबरजस्ती शक्ति प्रयोग गर्न खोजेको र १५ गतेको जस्तै घटना गराउन खोजेको स्थिति छ । तर, हामी संयमित भएर एक पाइलामात्रै पनि निषेधित क्षेत्रतर्फ अगाडि बढ्ने, निषेधित क्षेत्र हामीले तोड्यौं है भनेर सन्देश दिन खोजिएको हो । राप्रपा न हिंसामा विश्वास गर्छ, न कुनै हिंसात्मक प्रदर्शन राप्रपाबाट हुन्छ,’– उनले भने ।
उनले राप्रपाले हिंसामा विश्वास नगर्ने र जनताको शान्तिपूर्ण प्रदर्शनको ताकतमा विश्वास गर्ने पार्टी रहेको बताउँदै यदि कसैले त्यस्ता प्रकारका हिंसात्मक गतिविधि गरेको खण्डमा राज्य नियन्त्रणमा लिनुपर्ने बताए । राज्यले फरक मत लिएर सडकमा जान पाइँदैन भन्ने गरी दमन गर्ने कोशिस गरिरहेको उनले बताए ।