काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा सरकारको प्रस्तुतिलाई लिएर कडा आलोचना गरीरहेका छन् । गत वर्षको असारमा कांग्रेस–एमालेबीच ७ बुँदे सहमति भएर सत्ता–सहकार्य हुँदै गर्दा थापा कहीँ कतै दुई दलबीचको सहकार्यको गृहकार्यमा थिएनन् ।
उनले यो कुरा सार्वजनिक रुपमै स्विकारेका छन् । तर, दुई दल मिलेर सरकार बनाएपछि उनले यसले केही सुधार गर्नुपर्नेमा जोड दिएका थिए । सरकारलाई सफल तुल्याउन आफू लागिपर्ने उनको प्रतिबद्धता थियो । त्यहीअनुसार उनी सरकारलाई सफल पार्नेगरि नीतिगत सुधारमा देखिनेगरि खटिएका थिए ।
उनकै नेतृत्वमा विभिन्न आर्थिक सुधारसम्बन्धी अध्यादेश अघि ल्याईएको थियो । सार्वजनिक कार्यक्रममा समेत उनले सरकारको बचाउ गर्दै आएका थिए । तर, जब सरकारले चार महिनामात्रै कार्यकाल बाँकी भएका कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट गलहत्यायो, त्यसपछि थापाले सरकारको चर्को आलोचना गरेका हुन् ।
पछिल्लो समय उनले सरकारलाई सफल बनाउनको लागि आफूले भूमिका खेलेपनि नेतृत्वकर्ता ( प्रधानमन्त्री) केपी शर्मा ओली नै सुस्ताएको आरोप लगाएका छन् । उनले आजपनि प्रधानमन्त्री ओलीमा जोश, जाँगर र उत्साह नभएका भनेर कडा टिप्पणी गरेका छन् ।
कांग्रेसनिकट बौद्धिक पेसाकर्मीहरूको कार्यक्रमलाई आज ९मंगलबार० सम्बोधन गर्दै महामन्त्री थापाले सरकारको गति एकदमै सुस्ताएको भन्दै यसलाई ट्रयाक्टरको गति भनेका छन् । अर्को कुरा थापाले आफूलाई यो सरकारमा सहभागी हुनको लागि प्रस्ताव आउँदापनि सरकारमा सहभागी नभएर सफल तुल्याउन लागिपरेको खुलासा गरेका छन् ।
सरकारमा सहभागी नभएको विषयमा थापाले यसरी प्रष्ट्याएका छ्न,‘एमालेसँग मिलेर दुई ठूला सरकारले संविधानमा संशोधन गर्दै सरकार सञ्चालन र सुशासनमा व्यापक सुधार गर्छौँ भन्ने सोचेका थियौ । मलाई सरकारमा बसेर भूमिका खेल्ने प्रस्ताव आउँदा सरकारमा सहभागी हुन्न तर बाहिर बसेर यसलाई सफल बनाउने सन्दर्भमा वार फुटिङमा काम गर्छु, व्यक्तिगतरुपमा जोखिम उठाउन र घाउ खान तयार भएको हो । गाली खान तयार भएर शुरुमा जोतिएर काम गरेको हो । खासगरी इकोनोमिक फ्रन्टमा काम गर्ने भनेर उत्साहका साथ धेरै कुरा बदल्न सकिन्छ भनेर गरेको हो । देशलाई चाहिएको कंकर्डको गति हो तर तर सरकार ट्याक्टरको गतिमा छ ।