ईलाम। नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले कुनै गल्ती नै नगर्दापनि खेदाईमा परेको भन्दै गुनासो सुनाएकी छिन् । हिजो ९सोमबार० नयाँ वर्षको अवसरमा इलाममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो गुनासो पोखेकी छिन् ।
कांग्रेसमा महिलाको धेरै ठूलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्नेमा उनको जोड थियो । तर, नेपालमा कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो नभएको भन्दै आफ्नै उदाहरण पेश गरिन् । उनले थपिन्,‘जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरुले देख्नुभएकै छ । पार्टीमा सशक्त भूमिकाका लागि महिला पनि सक्रिय रुपमा लाग्नुपर्दछ ।’
उनले पार्टीभित्रको विषय चित्त नबुझे पार्टीभित्रै छलफल गर्नुपर्नेमा केही नेताले बाहिर भाषणा गर्दै हिँडेकोमा आक्रोश पोखिन् । उनले भनिन्,‘आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्ने छ । अरू पार्टीहरु ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ ।’