काठमाण्डौं । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत रहेको विशेष ब्युरोले उनलाई इमाडोलबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। हिजो आन्दोलन अराजक बन्दै गएपछि आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई र पुष्कर खतिवडा नजिकैको एक सटरमा लुकेर बसेका थिए । आन्दोलन चर्किदै गएपछि प्रसाई गाडी निकालेर प्रहरीको घेरा तोड्दै भागेका थिए ।
प्रहरीले गिरफ्तार गर्ने थाहा पाएसँगै फरार रहेका प्रसाई हिजो उनै धर्मगुरु पुष्कर खतिवडाको घर ईमाडोलमा बसेको प्रहरीले जनाएको छ । प्रसाईको मोवाईलको ट्रेसिङ्ग गर्दा ईमाडोल देखाएको थियो । तर प्रहरीले धर्मगुरु खतिवडालाई पक्राउ गरेपनि प्रसाई भने ईमाडोलवाट पनि भाग्न ुफल भएका छन् । अहिले प्रहरीले प्रसाईको खोजी जारी राखेको छ ।
यसअघि भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको थियो । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले गत साउन १४ गते उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।