काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी मण्डलेहरूले तीनकुने क्षेत्रमा आतङ्क मच्चाएको बताएका छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले चैत १५ नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण दिनका रूपमा अङ्कित भइसकेको भन्दै गणतन्त्रवादीहरुले कार्यक्रम राखेपछि प्रतिगामीहरूले पनि कार्यक्रम जुधाएर आतङ्क मच्चाएको बताए । ‘एकातिर राजावादी र अर्कोतिर गणतन्त्रवादीको आन्दोलन । पहिला हामीले आजको दिन कार्यक्रम राखेपछि उनीहरूले कार्यक्रम जुधाउँदा नै वातावरणलाई धमिल्याउने र उत्तेजित पार्ने मनसाय देखिएकै थियो’, प्रचण्डले भने, ‘१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा हाले पनि बाङ्गै जस्तो भएको छ तीनकुनेको सभा ।
प्रचण्डले भने, ‘मण्डले अराजकताको पराकाष्ठा तीनकुनेमा देखियो । प्रतिगामीको पराकाष्ठा घरमा आगो लगाउने , पुलिसमाथि आक्रमण गने, मान्छे मरून् भन्नेसम्मको अराजकता फैलाउन लागे ।’ गणतन्त्रको पक्षमा आफूहरूले गरेको सौम्य प्रदर्शन र सभालाई हेर्न उनले राजावादीलाई चुनौती दिए । प्रचण्डले पूर्वराजालाई अर्को गल्ती नगर्न चेतावनी दिए ।
जनता र राजनीतिक दललाई कमजोर ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस्,’ प्रचण्डले भने, ‘विगतमा उनले धेरै गल्ती गरेका छन् । त्यस्ता गल्तीको परिणाम पूर्वराजाले भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार भन्न चाहन्छु ।’