काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा अघिल्ला वर्षहरुजस्तै काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा नागाबाबा र साधुसन्तहरू आएका छन् । शिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरिन्छ ।
यसरी आएका साधुसन्तलाई पशुपती क्षेत्र बिकास कोषले पाशुपत क्षेत्रभित्रका बनकाली, पाशुपत क्षेत्र प्राङ्गण, श्लेसमान्तक बन क्षेत्र लगायत बिभिन्न स्थानका अखडामा ब्यवस्था गरेको छ । उनिहरुका लागि आवश्यक पर्ने दाउरा लगायतका सामाग्रीहरु समेत उपलब्ध गराईएको छ ।
पशुपति मन्दिर परिसर पुग्नेहरु नागाबाबाहरूको दर्शन गर्न पनि पुग्छन् । उनीहरूको वेषभूषा र जीवनशैली फरक हुने भएकाले सर्वसाधारणका उनीहरु चासो र आकर्षणको केन्द्र बन्ने गर्छन् । महाशिवरात्रिको अघिल्लो दिनदेखि नै पशुपतिनाथमा साधुसन्तको चहलपहल बढीसकेको थियो । यस वर्षको महाशिवरात्रि बुधबार परेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा, साधुसन्तको उपस्थिति र चहलपहल बढेको हो ।
छिमेकी देश भारत, बङ्गलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । महाशिवरात्रि जस्ता विशेष अवसरहरूमा, विशेष गरी छिमेकी मुलुक भारतबाट समेत नागाबाबा र साधुसन्तहरु आउने गर्छन् । यस वर्षको शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा १ हजार ५०० साधुसन्त र करिब दुई सय नागाबाबा आएको अनुमान छ । छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेकोले यस वर्ष भारतबाट आउने साधुसन्त कम रहेको छ ।महाशिवरात्री पर्व साधुसन्त र नांगाबाबाहरुको कारण पनि आर्कषणको केन्द्र बन्ने गरेको छ ।