काठमाण्डौं । संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०र८१ को चौतीसौँ वार्षिक प्रतिवेदन पेस गर्नेछन्।
गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ माथि विचार गरौँ भन्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ। सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा पाउँदै आएको तर सरकार र प्रदेशबाट अनुदान नपुग्दा सेवा बन्द हुने अवस्था आएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउनेछन्।
सांसद राजेन्द्र बजगाइँले ग्रामीण क्षेत्रमा बाँदर र जंगली सुँगुरको आतंकले खेतीबाली नष्ट भएको र किसानको सुरक्षामा खतरा बढेको भन्दै दीर्घकालीन समाधान, कृषि सुरक्षा, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलनका लागि नीति र कार्यान्वयन जरुरी रहेको प्रस्ताव राख्नेछन्।