काठमाण्डौं । काठमाडौंको बूढानीलकण्ठबाट २४ जना भारतीय नागरीक पक्राउ परेका छन् । अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए । अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो ।
यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । उक्त वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एप, टेलिग्र्राममार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने गरेका थिए ।
एसएसपी बस्नेतका अनुसार उनीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।बूढानीलकण्ठको एक घरमा छापा मारेर उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट २१ थान मोबाइल र ३८ थान ल्यापटप पनि बरामद गरेको छ ।