काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका सल्लाहकार रहेका अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो । सो रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको छ ।
अर्यालले गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने मागसहित प्रधानमन्त्री ओलीविरुद्ध माघ २९ गते अदालतको अबहेलना मुद्दादायर गरेका थिए । गिरीबन्धुको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा ओली सरकारले अवरोध गरेको हुँदा ओलीलाई पदबाट मुक्त् गर्नुपर्ने अर्यालको माग छ ।
पहिलो, सर्वोच्चले त्यतिबेला हदबन्दी छुटमा दिइएको जग्गाको उपयोगको अवस्था पत्ता लगाउनु भनेको थियो । अनि खाली राखिएको अवस्थाको जग्गा पहिचान गर्नु भनेको थियो । दोस्रो, प्रयोग नभएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा तत्काल सरकारको नाममा ल्याउन भनी आदेश गरेको थियो ।
तेस्रो, हदबन्दी भन्दा बढी देखिएको र चिया उद्योगको नाममा उपयोग नभएको गिरीबन्धुको जग्गा सरकारको नाममा ल्याउनु भनी आदेश दिएको थियो । फैसलाको पूर्णपाठ ५ असार, २०८१ मा महान्यायाधिवक्ता कार्यालयमा पुगेको थियो भने चार दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको थियो ।