काठमाडौं । काठमाण्डौ जिल्लामा रहेका ११ वटा नगरपालिका मध्ये तारकेश्वर नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ठ भएको छ । काठमाडौंका सबै स्थानीय तहमध्ये तारकेश्वर नगरपालिका ७१.३ अङ्कसहित पहिलो स्थानमा रहेको छ । काठमाडौं महानगरपालिका जिल्ला भरमै सबैभन्दा कमजोर पालिका देखिएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरपालिकाले जिल्लाका ११ नगरमध्ये सबैभन्दा कम अङ्क पाएर ११ नम्बरमा परेको हो । आयोगका अनुसार १७ वटा विभिन्न सूचकका आधारमा आयोगले गरेको मूल्याङ्कनमा काठमाडौं महानगरले १०० मध्ये जम्मा ५४.३ अङ्क पाएको छ । त्यसपछि नागार्जुन नगरपालिकाले ७०.६ अङ्क पाएको छ ।
यस्तै शंखरापुर नगरले ६८.१, चन्द्रागिरीले ६७.१, गोकर्णेश्वर नगरपालिकाले ६४.४, कीर्तिपुर नगरपालिकाले ६३.४, कागेश्वरी मनोहराले ६२.८, बूढानीलकण्ठले ६०.८, टोखाले ५८.६ र दक्षिणकाली नगरपालिकाले ५४.७ अङ्क पाएका छन् । आयोगले प्रत्येक वर्ष स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन सार्वजनि गर्ने गरेको छ ।