दोलखा । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेलाई भ्रष्टाचारीको संज्ञा दिँदै सडक, सदन र माओवादीले जितेका १२३ वटा स्थानीय सरकार तीनवटै मोर्चाबाट ठेगान लगाउने चेतावनी दिएका छन् । उनले कांग्रेस र एमालेले संविधान संशोधनको नाममा भएको उपलब्धिपनि मास्नेगरि संविधान च्यात्न खोजेको आरोप लगाएका छन् । आज ( शुक्रबार ) दोलखाको जिरीमा आयोजित पार्टीको ‘३०औं जनयुद्ध दिवस तथा जिरी नगरपालिकाको नगरसम्मेलन’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमालेले आफू नेतृत्वको सरकार ढाल्नको लागि मात्रै संविधान संशोधनको बहाना बनाएर मिल्ने काम गरेको आरोप लगाए ।
उनले भने,‘चारैतिर घेरा हालेर संविधान च्यात्न सकिन्छ कि भन्नेमा छन् । जनताले जति पाएका छन्, त्योभन्दा बढि अधिकार चाहिन्छ भनेका छौं । यो देशमा स्थिरता खोज्ने हो भने पूरानो तरिकाको निर्वाचन प्रणालीबाट पनि हुँदैन, पूरानो शासन व्यवस्थाबाट हुँदैन भनेका थियौं । संविधान बनाउनुपर्ने आवश्यकत्ता र बाध्यताले समर्थन गरेको हो । हाम्रो रिजर्भ छ है भनेको हो । देशलाई संविधान चाहिएको छ । देशभित्र र बाहिरबाट संविधान नबनोस भनेर षड्यन्त्र थियो, अहिले हामीले के भनेका छौं, ती मुद्दाहरु नोट अफ डिसेन्टको रुपमा राखेका थियौं । अब जनताको बीचमा लैजान्छौं भनेका छौं । प्रत्यक्ष निर्वाचित राष्टपति भनेका छौं ।’
दाहालले देशमा विकास र समृद्धिको नयाँ अभियान चलाउन सकिने सुनाए । उनले भने,‘सरकार बनाउनको लागिमात्रै कांग्रेस र एमालेले संविधान संशोधनको जालो, सैद्धान्तिक जामा पहिरिएका हुन् । संविधान संशोधन चाहने त हामी हौं । ०८७ भन्दा अघि संविधान संशोधन हुँदैन भनेर प्रधानमन्त्रीले भनेको सुन्नुभयो होला, ६ वर्षपछिको कुरा अहिले भन्नुपर्छ त रु झुठो कुरा हो । यिनीहरुको चासो संविधान संशोधन गर्ने होईन, च्यात्ने हो । यो संविधानमा गरिबहरुको अनुहार देखिन्छ । यो कुरा कांग्रेस र एमालेलाई मन परेको छैन् ।’
उनले माओवादीले अब जनताको तागद लिएर नयाँ अभियान चलाउनुपर्नेमा जोड दिए । उनले भने,‘एउटा नयाँ अभियान आवश्यक भएको छ । एकपटक जनताले आफ्नो तागद देखाउनुपर्नेछ । अहिले हामीलाई भूमिगत जानुपर्नै स्थिति छैन्, हतियार उठाउनुपर्ने स्थिति छैन् । शान्तिपूर्ण र सडकमा निस्किएकै बेलामा यिनीहरुलाई ठेगान लगाउन सकिन्छ । सडक र सदनबाट, १२३ वटा सरकार छन्, ती मोर्चाबाट हामी यी भ्रष्टाचारीहरुलाई ठेगान लगाउनेमा छौं ।’
आफू यतिवेला देशव्यापी रुपमा अभियान लिएर हिँडेको र जहाँ जाँदापनि जनताको अपार साथ र समर्थन पाएको पनि दाहालको दाबी छ । उनले भने,‘आम नेपाली जनताको बीचमा गएको छु, हिजो म गुल्मी गएँ, भोलि बाग्मती र झापा जाँदैछु । जनतामा यतिवेला हामीप्रति नयाँ आकर्षण देखिएको छ । माओवादी केन्द्रमात्रै यो परिवर्तनको सच्चा वाहक हो भन्ने लागिसकेको छ, जनता र राष्ट्रको पक्षमा सबभन्दा इमानदार भएर लाग्ने त माओवादी रहेछ भन्ने कुरा जनतालाई थाहा भयो । अहिले बुद्धिजिवीहरु, पत्रकार, नागरिक समाजका अगुवाहरुले पनि प्रचण्डलाई चिन्न ढिलो गरिएछ भनेको सुन्छु । त्यसले मलाई अझ बढि उर्जा भएको छ । उमेरको हिसाबले म ७० वर्ष पार भएपनि जवान भएकोजस्तो लाग्ेको छ । यी भ्रष्टाचारीहरुविरुद्ध अन्तिम लडाई लड्छु । यही अपिल गर्न चाहन्छु ।’
उनले कांग्रेस र एमाले नेताहरुले माओवादी सिद्दियो र अब बैशाखी नटेकी हिँड्नै नसक्ने भनेर भनेको भएपनि अहिले भर्खरै सम्पन्न भएको उपनिर्वाचनले माओवादीको लोकप्रियता देखाएको सुनाए । उनले भने,‘अहिले आएर यत्रो हेपाई, म प्रधानमन्त्रीबाट हटेपछि कांग्रेस र एमालेसँग कुनै गठबन्धन नगर्ने निर्णय गर्यौं । कतिपयलाई माओवादी सिद्दिन्छ भन्ने लाग्यो । उपनिर्वाचनमा माओवादी कोशी प्रदेशमा त पहिलो नम्बरमा आयो । देशभरि हामी दोस्रोमा उक्लियौं । दुवै मिलेर हाम्राविरुद्ध मिलेर चुनाव लडे । ती ठाउँमा पनि हाम्रो उम्मेदवारले अत्यधिक बहुमतले जितेका छन् । कांग्रेस र एमाले यति डराए कि उनीहरुले चुनाव चिन्ह साटासाट गरे । यसो गर्दापनि यिनीहरु हारे । ०८४ मा एमाले र कांग्रेससँग गठबन्धन गर्दै गर्दैंनौं । जनतासँग सम्बन्ध कमजोर भएको छ ।
कांग्रेस र एमालेलाई फकाउन मेहनत गर्नुभन्दापनि जनताको काखमा बस्न मेहनत गरेको भएर अहिलेभन्दा धेरै बलियो हुनेछौं । हुन त यसअघि पनि हामी गएको होईन, उनीहरु हामीसँग मिल्न आएका हुन् । अहिले हामीले तिनीहरुका विरुद्ध भण्डाफोर गर्यौं, माओवादीको उकालो यात्रा सुरु भएको छ । माओवादीलाई पाखा लगाउने षड्यन्त्र भएको छ, त्यसलाई परास्त गर्नुपर्छ ।’