चितवन । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले २०८४ को आम निर्वाचन अघि चुनावी गठबन्धन गरौं भन्ने व्यक्ति अब कांग्रेसमा रहन नसक्ने बताएका छन् । सुरुदेखि नै चुनावी गठबन्धनको विपक्षमा बोल्दै आएका थापाले आज ( सोमबार) चितवको खैरेनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले,‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौं। अब सिंगो पार्टी आयो ।’
उनले संविधान, विधान र कानूनले ०८४ पछि पार्टीको महाधिवेशन गर्न नपाईने व्यवस्था गरेको स्मरण गराए । उनले ०८४ को निर्वाचनअघि नै महाधिवेशन गराउनुपर्ने भन्दै त्यसमा सबैको साथ चाहिएको सुनाए । उनले पार्टीको महाधिवेशन समयमै गर्नुपर्नेमा सबै चिन्तित रहेको बताए । उनले भने हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ । तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुप¥यो र विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने थापाले बताए ।
पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने थापाको भनाइ थियो । फरक प्रसङ्गमा बोल्दै उहाँले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसद्मा टेबल हुने बताए । टेबल भएपछि संसद्बाट छलफलसहित पास हुने महामन्त्री थापाको भनाइ थियो । सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने उनले स्पष्ट पारे ।