जनकपुर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन् ।सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका हुन् ।
विगतमा दुई–दुई पटक संसद् विघटन गर्नुको तात्पर्य पनि संविधान खारेजीको प्रयास भएको उनको भनाइ थियो । पूर्वप्रधानमन्त्री प्रचण्डले देश र जनताको आवश्यकताका आधारमा आफूले संविधान संशोधनको प्रस्ताव लैजादा ओलीले नै रोकेको जिकिर गरे । मधेसमा भएका दलको मागअनुसार यसअघि पनि आफूले संविधान संशोधनको प्रयास गरेको उनले बताए ।
प्रचण्डले आफ्नो मुद्दा छाडेर जसपा नेपालले अध्यादेशलाई समर्थन नगर्ने र सरकारमा नजाने विश्वास पनि व्यक्त गरे । अहिलको सरकार सुशासनको विरुद्ध चलेको अभियान रोक्नका लागि बनेको आरोप लगाउँदै उनले सरकारबाट राम्रा कुराको आशा गर्न नसकिने बताए ।