काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले १२३ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।सोमबार बसेको पदाधिकारी बैठकले पार्टीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
१२३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी माओवादीले नेतृत्व गरेको छ । यता पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिनेबारे नेताहरूबीच सहमति हुन नसकेपछि आज पनि जिम्मेवारी तोकिन सकेन् । प्रवक्ता सापकोटाका अनुसार पुनबारे आज कुनै पनि निर्णय भएको छैन् ।
आजको बैठकमा पूर्व उपराष्ट्रपति पुन पनि उपस्थित थिए । केही समयदेखि उनी पार्टी बैठकमा सहभागीता जनाउने गरेका छन् । उनलाई उपाध्यक्ष बनाउने प्रचण्डको तयारी छ । तर, केही नेताहरुको गम्भीर असहमतिका कारण पुनको व्यवस्थापन माओवादीमा पेचिलो बन्दै गइरहेको छ ।