काठमाडौं। स्पिनर सीता रानामगरले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए पनि नेपालले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा लगातार तेस्रो पराजय बेहोरेको छ। नेदरल्यान्ड्सले आइतबार घरेलु टोली नेपाललाई १५ रनले पराजित गरेको हो। १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २् ओभरमा आठ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।
डच टोलीसँग नेपालको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा डच टोलीसँग नेपाल २० रनले पराजित भएको थियो। अर्को खेलमा नेपालले थाइल्यान्डलाई चार विकेटको जित सुम्पियो। डच टोलीको भने यो दोस्रो जित हो। यसअघि यो टोली थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो। नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । उनले ३२ बल खेल्दै एक छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्का २३, पूजा महतो १८, कविता जोशी १४ र सीता रानामगरले अविजित १० रन बनाइन् ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरेको डच टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रन बनाएको थियो। नेदरल्यान्ड्सकी कप्तान बाबेट डि लिडेले सर्वाधिक ४१ रन बनाइन्। उनले ३८ बलमा चार चौका र एक छक्का प्रहार गरिन्। हिथर सिगर्सले २६ तथा ओपनर फेबे मोल्केनबोइर र रोबिने रिज्केले समान २१ रन बनाए। नेपालकी सीता रानामगरले सर्वाधिक पाँच विकेट लिइन्। तीन ओभर बलिङ गरेकी उनले १२ रन खर्चिँदै पाँच विकेट लिइन्। मनीषा उपाध्ययले दुई विकेट लिँदा कविता जैशी र इन्दु बर्माको नाममा समान एकरएक विकेट लियो।