विराटनगर । ठगी मुद्दामा मोरङको धनपालथान गाउँपालिका –४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको अध्यक्ष शम्भु रौनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुण कुमार झाको इजलासले आइतबार रौनियार पुर्पक्षको लागि कारागार चालन भएका हुन् । अदालतको आदेशपछि रौनियार पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि २ असोजमा अध्यक्ष रौनियारविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो । पक्राउ अनुमति जारी भएको सूचना चुहिएपछि फरार भएको एक सय दिनपछि उनी सोमबार कानुन व्यवसायीलाई साथमा राखेर अदालतमा उपस्थित भएका हुन् । उनकै सक्रियतामा स्थापना भएको यो सहकारीको रकम अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् ।
अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो ।२८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक तथा धनपालथानका पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । २६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ ।