म्याग्दी । म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाका आरोपित जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । थापालाई आज बिहान पक्राउ गरिएको हो । नेकपा एमालेबाट समन्वय समितिमा निर्वाचित थापाले आफू उपाध्यक्ष छँदा सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको सहकारी रजिस्ट्रारको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानविन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो। थापा सहितको टोलीले सहकारीको रकम निजी विद्यालय, घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको पाइएको उक्त प्रतिवेदनमा औँल्याइएको थियो। एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् । ०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोक्का समेतले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर कुमारी बहुउद्देश्यीय सहकारीको रकम छानविन गर्न माग गरेका थिए ।
उनीहरूको माग अनुसार सहकारी रजिष्ट्रारको कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमलाई छानविन गर्न अख्तियारी दिएको थियो । गौतमको छानविन प्रतिवेदनले थापाको मुख्य योजनामा सहकारीको १ अर्ब ४९ करोड रकम हिनामिना भएको प्रतिवेदनले औँल्याएको थियो । प्रतिवेदनको आधारमा थापालाई तत्काल पक्राउ गरेर अनुसन्धान थाल्न पर्नेमा सहकारी रजिष्ट्रारको कार्यालयले नै थापा बिरुद्ध प्रहरीमा उजुरी गर्न डराएको भन्दै सर्बसाधारणले रजिष्ट्रारको कार्यालयको बिरोध गर्दै आएका थिए ।
सहकारीबाट लिएको रकमको ब्याज र साँवासमेत सहकारीमा नबुझाई छुट खर्च लेख्न लगाउने काम अहिले जिसस अध्यक्ष रहेका निवर्तमान उपाध्यक्ष राजकुमार लगायतले गरेको आरोप छ । सहकारी हिनामिना गर्नेमा समिति तथा अन्य उपसमिति रकर्मचारीसमेत रुद्रबहादुर गुरुङ, गेमबहादुर घर्ती मगर, यामबहादुर रोका, राजकुमार थापा, मनप्रसाद थजाली, रनमती गर्बुजा, गीता थापा मगर, देवीकुमारी थापा, दुतकुमारी शेरपुन्जा, थमबहादुर गर्बुजा, नरबहादुर थापा, बालकुमार रोका ९पत्नी सगुन कसजुको नाममा लिएको ऋण समेत० संलग्न रहेको पाइएको छ ।
यसैगरी दिलबहादुर थापा मगर, दिलिप राम्जालीसमेत सहकारीको रकम हिनामिनामा संलग्न रहेको देखिएको छ । जिसस अध्यक्ष रहेका राजकुमारले पत्नीको नामको ऋणसमेत डर, त्रास र धम्की देखाएर मिलान गर्न लगाई सहकारीका बचतकर्ताको बचत अपचलन गरेको पाइएको हो ।।